रिता ढकाल
धरान–०६, सुनसरी
हो मैले हिमचुलीको दन्तेलहर जसरी मेरा निर्दोष शब्दहरुलाई पङ्तीबद्द गर्न सकिन होला तर मेरा अन्तर्मनबाट निस्किएका भाबहरुलाई छताछुल्ल पारेकी छैन।
हो मैले बगैंचामा फुलेका बास्नादार र रङ्गिन फुलहरु जसरी मेरा शब्दलाई मिठास भर्न र रङग्याउन सकिन होला तर मेरा अन्तर्मनमा सजाएका सप्तरङ्गी भाबहरुलाई खुइलिन दिएकी छैन।
हो मैले छलछल बग्ने खोला झरना जसरी मेरा शब्दहरुलाई चिस्याउन र रुजाउन सकिन होला तर अन्तहृदयम भरिएका सुन्दर भाबको छालहरुलाई अन्त कतै बग्न दिएकी छैन।
हो मैले दनदन बलेको अग्निको जसरी मेरा शब्दहरुलाई ज्वाला र राप दिन सकिन होला तर मेरो अन्तर्मनमा कुदिएको भाबहरुको उर्जालाई निभ्न दिएकी छैन।
हो मैले पहाडमाथी बाट हाम फालेर आउने हावाको बेग जसरी मेरा शब्दहरुले अङ्गअङ्गमा काउकुति लगाउदै स्पर्श दिन सकिन होला तर मेरो अन्तह्र्दयका भाबहरुको बेगको रफ्तारलाई रोक्न सकेकी छैन।
हो मैले बसन्त ऋतुमा नयाँ वस्त्र धारण गर्ने हरियाली बनपरिको जसरी मेरा शब्दहरुको पहिरन फेर्न सकिन होला तर मेरो अन्तधडकनको पौला लागेका भाबहरुलाई निमोढेकी छैन।
हो मैले मायबी प्रेमिल जोडीको जसरी मेरा शब्दहरुलाई प्रेमले उन्मुक्त पारी प्रेमरसको आनन्दित अनुभुती दिन सकिन होला तर मेरा अन्तहृदयका मायालु भाबहरु प्रतिको निस्वार्थ प्रेमलाई धोका दिएकी छैन।
हो मैले पाठकले स्वप्निल सन्सारमा हराउने नोबेल पढे जसरी मेरा शब्दहरुलाई साहित्यरसमा ढाल्न नसकेर न्याय गर्न सकिन होला तर एउटा सच्चा साहित्य प्रेमीको अन्तर्मनको भाबहरुको अत्याचार गरेकी छैन।
0 comments :
Post a Comment